बैंक–वित्तीय संस्थाको एनपीएल १० वर्ष यताकै उच्च
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नन पफर्मिङ लोन (एनपीएल) १० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरुको एनपीएल समग्रमा ३.९८ प्रतिशत पुगेको छ । यो २०७१ असार यताको सबैभन्दा धेरै हो । त्यस समयदेखि २०७८ सम्म उक्त दर क्रमश घट्दै आएको थियो । पछि २०७८ देखि भने झन बढ्दै गएको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८० चैतसम्म समग्रमा वाणिज्य बैंकको एनपीएल ३.८९, विकास बैंकको ३.६३ र फाइनान्सको १०.४० प्रतिशत पुगेको छ । यसरी निष्कृय कर्जा दर बढेपछि बैंक वित्तीय संस्थाहरुको लाभांश दर पनि घट्ने देखिएको छ । कोभिड-१९ को महामारी पछि घट्दै गएको बैंकहरुको लाभांश दरमा झनै गिरावट आउने लगभग निश्चित जस्तै देखिएको छ । खराब कर्जा बढेपछि आम्दानी थुप्रै रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । जसले गर्दा यिनीहरुको नाफामा असर पर्न जान्छ । त्यसैले लाभांश दर पनि कम हुनु स्वाभाविक हो ।
गत वर्ष पनि धेरै बैंक तथा वित्तीय संस्थाहरुले लाभांश दिन सकेनन् । अहिले पनि अधिकांश कम्पनीहरुको रिटेन्ड अर्निङ शीर्षक ऋणात्मक छ । त्यसैले जानकारहरुले यस वर्ष पनि बैंकहरुले लाभांश दिन नसक्ने सम्भावन रहेको बताउँछन् ।