सातवटै प्रदेशमा राष्ट्रिय पिचिङ प्रतियोगिता
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टअन्तर्गतको कुसोम फाइनान्स क्लबले राष्ट्रिय स्टक पिचिङ प्रतियोगिता नेपालका सातै प्रदेशमा सम्पन्न गरेको छ । वैशाख २३ देखि जेठ ६ सम्म सञ्चालन भएको प्रदेश प्रतियोगिता विजेतालाई काठमाडौंमा फाइनलका लागि ल्याइएको थियो, जहाँ उनीहरूले आ-आफ्नो स्टक लगानी रणनीति प्रस्ततु गर्दै एक-अर्कासँग प्रतिस्पर्धा गरेका थिए ।
कुसोम फाइनान्स क्लबद्वारा आयोजित र नेपाल स्टक ब्रोकर संघद्वारा समर्थित प्रतियोगितामा देशभरका शीर्ष संस्था र विश्वविद्यालय टिमले प्रतिस्पर्धा गरेका थिए । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको उपस्थितिमा भएको कार्यक्रमको उद्देश्य वित्तीय साक्षरता अभिवृद्धि र देशभरबाट युवा प्रतिभालाई लगानी क्षेत्रतर्फ प्रोत्साहित गर्नु रहेको बताइएको छ ।
सो अवसरमा कुसोमका डिन डा. विजय केसी, सेबोनका कार्यकारी सदस्य प्रज्ज्वल उप्रेती र सिप्राबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता प्रादेशिक विजेतामा कोशी प्रदेशको इटहरीमा कस्तुरी कलेज, मधेश प्रदेशको वीरगञ्जस्थित पब्लिक कलेज, बागमती प्रदेशको चितवनस्थित बोस्टन इन्टरनेसनल कलेज, गण्डकी प्रदेशको पोखरास्थित पृथ्वीनारायण क्याम्पस, लुम्बिनी प्रदेशको बुटवलस्थित न्यु होराइजन कलेज, कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित ग्यालेक्सी बहुमुखी क्याम्पस रहेका छन् । चितवन र काठमाडौं गरी दुई स्थानमा आयोजित फाइनलमा पुग्न सफल टोलीमा शंकरदेव क्याम्पस, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, काठमाडौं विश्वविद्यालय व्यवस्थापन स्कुल रहेका छन् ।
प्रथम स्थान टिम माउन्ट मनास्लुले आफ्नो व्यापक अध्ययन र नवप्रवर्तनशील स्टक छनोट रणनीतिसँग निर्णायकलाई प्रभावित पार्दै ५० हजार नगदका साथै स्मार्ट वेल्थ प्रोको एक वर्षको सदस्यता, जुजु वेयरका टि-सर्ट, क्लासमेटका नोटबुक र रोला नेपाल, एसआइए, स्याण्डवीच हब, न्युम्युस र कोलम्बस चकलेटका भाउचर प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गर्ने टिम इनभिन्सिबलले २५ हजार नगद साथै स्मार्ट वेल्थ प्रोको एक वर्षको सदस्यता, जुजु वेयरका टि-सर्ट, क्लासमेटका नोटबुक र रोला नेपाल, एसआइए, स्याण्डवीच हब, न्युम्युस र कोलम्बस चकलेटका भाउचर प्राप्त गरेको छ भने तेस्रो विजेता टिम बिएपीले १० हजार नगदका साथै स्मार्ट वेल्थ प्रोको एक वर्षको सदस्यता, जुजु वेयरका टि-सर्ट, क्लासमेटका नोटबुक र रोला नेपाल, एसआइए, स्याण्डवीच हब, न्युम्युस र कोलम्बस चकलेटका भाउचर प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको शीर्ष प्रायोजकमा नेपाल स्टक ब्रोकर्स एसोसिएसन, सहयोगी प्रायोजकमा ग्लोबल आइएमई बैंक, ज्ञान साझेदारमा एसिसिए ग्लोबल, अल्फा क्यापिटल, प्रविधि साझेदारमा स्मार्ट वेल्थ प्रो, क्लिक एण्ड प्रेस, भुक्तानी साझेदारमा कनेक्ट आइपिएस, बैंकिङ साझेदारमा लक्ष्मी सनराइज बैंक र शाइन रेसुुंगा डेभलपमेन्ट बैंक, लगानी बुकिङ साझेदारमा कुमारी क्यापिटल, रेमिट्यान्स साझेदारमा सिटी एक्सप्रेसलगायत रहेका थिए ।