मनसुन सुरु हुनुअघि नै विपद्को पूर्वतयारी शुरु
काठमाडौं । सरकारले यसवर्ष मनसुन सुरु हुनुअघि नै विपद्को पूर्वतयारी थालेको छ । गृहमन्त्रालयले विपद संवेदनशील सामाजिक सुरक्षा (सचालन तथा ब्यवस्थापन) कार्यविधि बनाएर विपद्को पूर्वतयारी सुरु गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणमा बसेको कार्यकारी समितिको बैठकले उक्त कार्यविधि स्विकृत गरेको हो । यससँगै सरकारका निकायहरुले कार्यविधिका आधारमा विपद्को प्रतिकार्यका लागि योजना बनाउनेछन् ।
बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेले कार्यविधि बनाएर मात्रै सरकारको जिम्मेवारी पुरा नहुने बताएका छन् । नीति बनेपनि कार्यान्वयनमा लैजान नसके अर्थहिन हुने भन्दै उनले भने, आँफै सहभागी भएका, आँफैले बनाएका, आफैले अनुमति दिएका कुराहरु कार्यान्वयन गर्न नसकिने भन्ने हुँदैन । योजना बन्ने तर कार्यान्वयन नहुने अहिलेको मुख्य समस्या हो । कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रै हो । यसमा सबैको प्रतिवद्धता आवश्यक छ ।
कार्ययोजना राम्रो बनेको छ भनेर प्रशंसा पनि भयो । योजना बनेर मन्त्री दंग भएर मात्र हुँदैन । जनता दंग हुनेगरी कार्यान्वयनमा लैजानु ।
विपद्सँग सिधा सरोकार राख्ने ११ वटा मन्त्रालय, ७ प्रदेश, ७७ जिल्ला र सात सय ५३ पालिकाहरु सबै आफ्नो भुमिकामा जिम्मेवार बनेमा मात्र सम्भावित जोखिम र क्षती कम गर्न सकिन्छ ।
विपद्का समयमा राजनीतिक दलहरुले पनि आफ्ना कार्यकर्ताहरुलाई स्वयम्सेवकका रुपमा खटाउन सक्छन् । त्यसका लागि पनि हामीले दलहरुसँग छलफल गर्नेछौँ ।