प्रदेश सरकारले हुरी प्रभावितलाई प्रि–फ्याब घर बनाइदिने |
जनकपुरधाम । प्रदेश २ सरकारले बाराका हुरी प्रभावितहरुका लागि आउन लागेको वर्षा अगावै प्रि–फ्याब घर बनाइदिने निर्णय गरेको छ । राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।
दीर्घकालीन पुनस्र्थापनाका लागि भने पूर्ण रुपमा घर क्षति भएका पीडितहरुलाई एकनासको प्रि–फ्याब घर बर्षा शुरु हुनु अगाडि (चार महिनाभित्र) तयार पार्ने निर्णय गरिएको मुख्य न्यायाधिवक्ता एवं समितिका सदस्य दिपेन्द्र झाले बताए । तत्कालका लागि त्रिपाल, टेन्ट लगायतको अस्थायी सेल्टरहरु बनाइने उनले जानकारी दिए ।
साथै बैठकले राहत विचरणलाई व्यवस्थित बनाउन सहायक कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सहायता कक्षमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास राज्यमन्त्रीका साथै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र स्थानीय जनप्रतिनिधि नै बस्नेछन् ।
प्रदेशका आन्तरिक मामिलामन्त्री अध्यक्ष रहेको उच्चस्तरीय समितिले हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । साथै सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमबाट मिलान गर्ने गरी करिव १५०० बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल समाग्री उपलब्ध गराइनेछ ।