निम्बसको वेयर हाउजिङ परियोजनामा भारतीय कम्पनीको प्राविधिक सहयोग |
काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीलाई खाद्यान्नको वैज्ञानिक भण्डारणको लागि प्राविधिक पक्षमा भारतीय कम्पनी नेशनल कोलाटरल म्यानेजमेन्ट सर्भिसेज लिमिटेड (एनसीएमएसएल) ले सघाउने भएको छ ।
नेपाल वेयरहाउजिङ्ग कम्पनी र एनसीएमएसएलबीच कृषि उपज –खाद्यान्न) को वैज्ञानिक र सुरक्षित भण्डारण गर्न प्राविधिक सहयोग गर्नेबारे द्विपक्षीय सम्झौतामा शनिबार लगानी सम्मेलनको अवसरमा हस्ताक्षर भएको हो ।
लगानी सम्मेलनमा प्रस्ताव गरिएकामध्ये कृषिसँग सम्बन्धित निजी क्षेत्रको यो एक मात्र परियोजना हो । सन् २०१४ मा स्थापित एनसीएमएसएलले भारतको १९ राज्यको ४ सय जिल्लामा ७ हजारभन्दा बढी खाद्यान्न भण्डारण पूर्वाधारको व्यवस्थापन गरिरहेको छ ।
एनसीएमएसएलको निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपम कौशिकले कृषिमा निर्भर मुलुक भएकोले नेपालमा ‘ग्रेनरी’ को ठूलो संभाव्यता रहेको बताए । उनले प्राविधिक र व्यवस्थापकीय पक्षमा भारतको अनुभव नेपालको लागी प्रयोग गर्न पाउँदा खुशी लागेको बताए ।
निम्बस समूहको अगुवाईमा नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्थापना भएको हो । यो कम्पनीले पूर्वमा दुहबी, मध्यमा जीतपुर (बारा) र पश्चिममा कपिलवस्तुमा ग्रेनरी सञ्चालनको तयारी गरेको छ ।
समूहका संचालक डा. दिनेश गौतमले ग्रेनरीमा किसानले आफ्नो कृषि उपजको सुरक्षित भण्डारण, उपजको धितोमा बैंक ऋण सुविधा, सहुलियत ब्याजदर, कृषि उपजको सहज खरिद विक्रीको सुविधा उपलब्ध हुने बताए ।
१ अर्ब ३५ करोड रुपैयाँ लगानी परियोजना अन्तर्गत दुहबीमा भण्डारणको लागि पूर्वाधार निर्माण कार्य शुरु भइसकेको छ ।