सिरोहियाको पक्राउ अस्वाभाविक׃ समुद्रपार निकासी पैठारी संघ
काठमाडौँ । नागरिकता प्रकरणमा सञ्चार उद्यमी कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारको घटनालाई नेपाल समुद्रपार निकासी पैठारी संघले अस्वाभाविक भनेको छ ।
संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘कोही विरुद्ध उजुरी पर्नु स्वाभाविक हो, गैर कानुनी काम गरेको प्रमाणित भएको खण्डमा जोसुकै होस्, कानूनले तोकेको सजाय भोग्नै पर्छ । तर, उद्यमी व्यवसायीको हकमा पक्राउ गर्नु अघि त्यसबाट कस्तो सन्देश प्रवाह हुन्छ भन्ने कुरामा पनि राज्यले ध्यान पु¥याउनुपर्ने हुन्छ । भागेर कतै जाने सम्भावना नरहेको र प्रमाण नष्ट सक्ने अवस्थामा नभएका व्यवसायीलाई उजुरीकै भरमा पक्राउ गर्नुभन्दा अग्रिम जमानत लिएर अनुसन्धान प्रक्रिया अघि बढाउनु पर्ने माग यो संघले निकै अघिदेखि गर्दै आएको छ । ’ विज्ञप्तीमा उल्लेख छ ।
यसो गर्दा उद्यमी व्यवसायी र लगानीकर्तालाई उच्च मनोबलका साथ काम गर्ने वातावरण प्राप्त हुने भएकाले उजुरी पर्ने बित्तिकै पक्राउ गर्नुको सट्टा परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नुपर्ने, पक्राउ नगरीकनै आरोपितका कुरा सुन्नुपर्ने र गहिरो अनुसन्धानपछि पक्राउ नगरी नहुने अवस्था आए मात्र यस्तो कदमचाल्नु पर्ने माग विज्ञप्तीमा गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ,‘थुनेपछि मात्रै सुन्ने चलनले अदालती सुनुवाइबाट व्यक्ति निर्दोष सावित हुँदा पनि समाजमा कलंकित हुनुपर्ने अवस्था छ । अर्थतन्त्र शिथिलताको अवस्थाबाट गुज्रिरहेको बेला उद्यमी, व्यवसायीलाई पक्राउ र उसको मानमर्दन गर्दा व्यवसाय र लगानीको वातावरण अझै बिग्रनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’