प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर : कर्णालीमा सबैभन्दा कम, गण्डकीमा सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्ष (आव)मा उपभोक्ताको मूल्यमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव ०८०/८१ मा उक्त प्रदेशमा ४.५५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर हुने प्रक्षेपण गरिएको हो । प्रतिवेदनअनुसार गण्डकीपछि लुम्बिनी प्रदेशमा आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । उक्त प्रदेशमा चालू आवमा ४.०५ प्रतिशत लुम्बिनी प्रदेशमा छ ।
यो आवमा कर्णाली प्रदेशमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा थोरै ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको वृद्धिदर राष्ट्रियभन्दा धेरै हुने अनुमान गरिएको छ ।
बाँकी प्रदेशको वृद्धिदर राष्ट्रियभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ । आव २०७९/८० मा सबै प्रदेशमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर घटेकोमा चालू आवमा भने यो वृद्धिदर बढ्ने अनुमान गरिएको छ ।
आव २०७९/८० को संशोधित अनुमान तथा आव २०७८/७९ को अन्तिम तथ्यांक बमोजिम आव २०८०/८१ को प्रारम्भिक अनुमान गरिएको बताइएको छ ।