आजदेखि शुरू भो लगानी सम्मेलन | ढुक्क भएर लगानी गर्नुस्, सबै जिम्मा सरकारले लिन्छ : प्रम
काठमाडौं । विदेशी लगानी भित्र्याउनका लागि सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि काठमाडौंको होटल सोल्टीमा शुरू भएको छ । उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार गरेका हुन् ।
सम्मेलनको उद्घाटन समारोहमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य दिँदै सहभागी विदेशी पाहुनाहरूलाई स्वागत गरे । उनले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
अर्थमन्त्रीको स्वागत मन्तव्यपछि प्रम ओलीले सम्मेलनका सहभागीहरूलाई सम्बोधन गरे । उनले नेपालमा राजनीतिक संक्रमण अन्त्य भएको बताउँदै नेपाल समृद्धिको यात्रामा अघि बढेको र नेपाल सरकार लगानीकर्ताहरूसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए । नेपालमा अब राजनीतिक अवस्था स्थिर भइसकेकाले ढुक्क भएर लगानी गर्न उनको आग्रह थियो । उनले लगानीकर्तालाई विश्वस्त पार्दै भने, ‘नेपाल लगानीका लागि सुरक्षित भर्जिन ल्यान्ड हो । ढुक्क भएर लगानी गर्नुस्, सबै जिम्मा सरकारले लिन्छ ।’
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ता यो सम्मेलनमा सहभागी छन् । सम्मेलनमा लगानीका लागि निजीक्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरू प्रस्ताव गर्दै छ । आजको विषयगत सत्रमा ती परियोजनाहरूमा लगानीका विषयमा छलफल हुने बोर्डले जानकारी दिएको छ ।
को–को छन् वक्ता ?
सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिसकेका छन् भने म्यानमारका युनियन मन्त्री उ ताउन टूनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रूपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । आजको यो समारोहलाई लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले बोल्ने कार्यक्रम रहेको छ ।