जुट उद्योगलाई विद्युत महसुलमा छुट |
काठमाडौं । सरकारले सनपाट (जुट) उद्योगहरूलाई विद्युत महसुलमा छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले मुलुकभर सञ्चालनमा रहेका जुट उद्योगहरूलाई विद्युत महसुलमा छुट दिने निर्णय गरेको हो ।
पछिल्लो समय जुटको उत्पादन लागत महँगो हुँदा उद्योग धराशयी हुँदै गएका छन् । उद्योग सञ्चालनका लागि उद्योगीहरूले आग्रह गरेबमोजिम विद्युत महसुलमा छुट दिने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
आन्तरिक रोजगारी सृजनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका यी उद्योगहरू सीमित बजार, उत्पादन लागत धेरै हुनु, कामदार अभाव, कच्चा पदार्थको अभाव जस्ता कारणले पछिल्लो समय खस्कँदै गएका हुन् ।
नेपालबाट निर्यात हुने वस्तुमा जुट पनि एक हो । नेपालमा उत्पादित झण्डै १५ प्रतिशत जुट भारतमा निर्यात हुँदै आएको छ । हाल नेपालमा पाँचवटा जुट उद्योग मात्र सञ्चालनमा रहेका छन् । नेपालबाट खास गरी जुटका डोरी, जुटका बोरा र तयारी जुट मात्र उत्पादन र निर्यात हुने गरेको छ ।