काठमाडौं विश्वविद्यालयको आयोजनामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा आगामी जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित ‘साउथ एशियन युनिभर्सिटी’ का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहने विश्वविद्यालयले जानकारी गराएको छ ।
यसैगरी, अमेरिकाको हिलोस्थित ‘हवाई युनिभर्सिटी’ का प्राध्यापक योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रुपमा सहभागी हुनेछन् भने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता केयूका उपकुलपति प्राध्यापक भोला थापाले गर्नेछन् । यस अन्तर्राष्ट्रिय गोष्ठीमा वक्ताको रुपमा भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के.जी. सुरेश रहेका छन् ।
साथै, चीनको ‘युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी’ अन्तर्गत ‘स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एडमिनिस्ट्रेसन’ का उपाध्यक्ष हान हङ र इण्डोनेसियाको बालीस्थित ‘पोलिटेक्निक नेगेरी (विश्वविद्यालय)’ का प्राध्यापक इदा बागुस पुटु सुअम्बा लगायतले पनि वक्ताका रुपमा सहभागिता जनाउने निश्चित भइसकेको केयूले जानकारी गराएको छ ।
केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले २ दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौं विश्वविद्यालयहरुमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ । साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरुले थप अनुसन्धान पनि गरिरहेका छन् ।
कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी करिब १०० जना विज्ञहरुले सञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नेछन् । सङ्गोष्ठी ‘हाइब्रिड मोड’ मा हुने भएकाले केही प्रस्तोताले भर्चुअल माध्यमबाट र केहीले भने काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्स्, हात्तीवनमा उपस्थित भएर आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् । गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति तथा त्यसका मातहत विभिन्न १० वटा उपसमितिहरु गठन भई क्रियाशील रहेको केयूले जानकारी गराएको छ ।