अन्तरिक्ष महाशक्ती राष्ट्रको सूचीमा भारत पनि समावेश, चौथो राष्ट्र भएको घोषणा |

काठमाडौं । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भू–उपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । मोदीले हालसम्म ३ देशमात्रै उक्त अन्तरिक्ष महाशक्तीको देशका रुपमा रहिआएकोमा अब भारत पनि समावेश भएको जानकारी दिएका हुन ।
‘अब भारत अन्तरिक्ष महाशक्ती राष्ट्रको चौथो राष्ट्र भएको छ,’ उनले कार्यक्रममा बोल्दै भने, ‘सबै भारतीयका लागि यो भन्दा ठुलो गर्वको विषय अरु हुनै सक्दैन ।’ भारतले एण्टी स्याटेलाईट परीक्षण सफलतापुर्वक गरेको र ३ सय किलोमिटर टाढा रहेको एक लाउड स्याटेलाईटलाई ध्वस्त पारेको थियो । जम्मा ३ मिनेटमा लो अर्बिट स्याटेलाईटलाई एण्टी स्याटेलाईट मिसाईलले सफलतापूर्वक ध्वस्त पार्न सफल भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना बैज्ञानिकले गरेको कामले उक्त सफलता मिलेको जानकारी दिएका छन् । उनले बैज्ञानिककै कारण भारतको शिर उच्च भएको समेत कार्यक्रममा उद्घोष गरेका हुन ।
हाल भारतले आफ्ना जनतालाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने हेतुले अन्तरिक्षमा सयौं उपग्रहहरु पठाईसकेको जानकारी दिँदै उक्त उपग्रहहरुले कृषि, शिक्षा, रेल्वे, स्वास्थ्य लगायतका क्षेत्रका धेरै ठुलो सहयोग पुर्याउँदै आएको बताएका छन् । हालसम्म विश्वका ३ देशमात्रै अन्तरिक्ष महाशक्तीको सूचीमा समावेश भएका छन् ।
हाल अमेरिका, रुस र चीनमात्रै उक्ता महाशक्ती राष्ट्रको सूचीमा समावेश भएकोमा अब भारतपनि उक्त महाशक्ती राष्ट्रको सूचीमा समावेश भएको हो । भारतीय क्षेप्यास्त्रले अब पृथ्वीको तल्लो भागमा भएका भु–उपग्रहहरु सजिलै खसाल्न सक्ने क्षमता राख्दछन् । जसमार्फत भारतीय उपग्रहहरुको सुरक्षा हुनुका साथै समग्र सुरक्षाका दृष्टिकोणले राम्रो मानिन्छ ।