जापानी विदेशमन्त्री खामिखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा आएकी जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आज परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठले भने, “दुबै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”।
जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको पनि उनले स्पष्ट पारे ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि खामिखावाको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरिसकेकी छिन्।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रीभोजको आयोजना गर्दैछन् । खामिखावा आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापान फर्किने कार्यक्रम रहेकाे छ।