प्रमुख आयुक्त यादव निर्वाचन आयोगबाट विदा |
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज आइतबारदेखि अवकाश लिएका छन् । यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । २०६३ सालयता २ कार्यकाल निर्वाचन आयोगमा रहेका यादवले आइतबारदेखि अवकाश पाएका हुन् ।
विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।
उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गरे ।
अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनː आग्रह गरे । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन प्रमुख निर्वाचन आयुक्त यादव सफल भए । यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने छिन् ।