सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् ।
भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । यस्तो कार्डमा ग्राहकहरूले २० हजार रूपैयाँदेखि २ लाख ५० हजार रूपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइको सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंककाे देशैभरी १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा १७ लाख २४ हजार ग्राहकहरू रहेका छन् । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जानकारी दिएकाे छ ।