अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयरमा आजबाट लिलामी आवेदन खुला
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्री भएको छ । हाइड्रोपावरले आज वैशाख १० गते सोमबारदेखि १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री खुला गरेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।
यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।