कृषि बीमा अन्तर्गत दूई बीमालेख थप, किसानको समेत बीमा हुने |
काठमाडौं । कृषि बीमा अन्तर्गत नयाँ दुई बीमालेख थपिएको छ । बीमा समितिले कफि खेती र बाख्रा बीमालेख जारी गरेको हो । त्यस बीमालेखमा प्रस्तावक अर्थात किसानको समेत दुर्घटनाका कारण मृत्यु भएमा दुर्घटना मृत्यु वापत २ लाख रुपैयाँ सम्म भुक्तानी पाउने व्यवस्था छ । तर त्यस सुबिधाको लागि किसानले वार्षिक १०० रुपैयाँ तिर्नुपर्दछ ।
कृषि बीमा अन्तर्गत सरकारले कुल बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आइरहेको छ । किसानले बाँकी २५ प्रतिशत बीमा शुल्क मात्रै भुक्तानी गरेर बीमा गर्न सकिने व्यवस्था छ ।
कफिको बिरुवा रोपेपछि बीमा शुरु गर्न सकिने
बीमा समितिले बाली तथा पशुपक्षी बीमा निर्देशन २०६९ अनुसार कफिखेती बीमालेख लागु गरेको छ । कफि खेती गर्दै आइरहेको किसानलाई यस योजनाले राहत पुग्ने देखिन्छ । यस योजनामा कफि उत्पादन तथा बोट वा दुवैको बीमा गर्ने सकिन्छ ।
कफीको बिरुवा रोपिसके पछि बीमा गर्न सकिनेछ । कफिखेती गर्दा ८ सय देखि २ हजार मिटरसम्मको उचाईमा छहारीभित्र कफी खेती गरेको हुनुपर्ने व्यवस्था छ । कफीबोटको संख्या, बोटको मूल्य, उत्पादन दर तथा उत्पादन मूल्यको आधारमा बीमाङ्क रकम निर्धारण गर्दछ भने किसानले बीमाङ्क रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क बुझाउनु पर्दछ ।
खेती तथा बालीमा आगलागी, चट्याङ, भूकम्प, बाढी, आकस्मिक दुर्घटना तथा रोगबाट नोक्सानी भएमा यस योजनाले रक्षावरण गर्नेछ । तर युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्धजस्ता कारणबाट हुने नोक्सानीलाई भने यसले रक्षावरण गर्दैन ।
स्वस्थ बाख्राको मात्रै बीमा
कफीखेती जस्तै बाख्राको पनि बीमालेख जारी गरेको छ । बीमा समितिले ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिने बीमालेख लागू गरेको हो ।
बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ । त्यस्तै नियमित जुकाको औषधी खुवाएको र ‘पीपीआर रोगविरुद्धको भ्याक्सिन’ लगाएको हुनुपर्दछ । बाख्राको खोर पशु सेवा विभागको मापदण्ड अनुसार बनाएको हुनुपर्ने पनि बीमालेखमा व्यवस्था छ ।
प्राविधिकको परामर्श अनुसार बाख्रा लाई स्वस्थ्य र निरोगी राख्नु पर्नेछ र कुनै रोग लागेमा वा अस्वस्थ्य भएमा उचित रोकथाम वा उपचार गराउनु पर्नेछ । बाख्राको लागी स्वस्थ्य तथा पर्याप्त आहार, पानी र सुरक्षित तथा ब्यवस्थित गोठको ब्यवस्था गरेको हुनुपर्दछ ।
आगलागी, चट्याङ, भूकम्प, बाढी, आकस्मिक दुर्घटना तथा रोगबाट नोक्सानी भएमा यस योजनाले रक्षावरण गर्नेछ । अधिकतम् बीमाङ्क रकमको सिमा भित्र रही वास्तविक क्षतिको ९० प्रतिशत भुक्तानी पाउने बीमालेखमा उल्लेख छ ।
तर युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्धजस्ता कारणबाट हुने नोक्सानीलाई भने यसले रक्षावरण गर्दैन । यस्तै बाख्राको सम्बन्धमा सत्य तथ्य कुरा लुकाइ छिपाई झुट्टा विवरण दिएमा, बाख्रा हराएमा वा चोरी भएमा, सरकारी निकायको आदेशमा बाख्रालाई नष्ट गर्नुपर्ने लगायतको अवस्थामा पनि कुनै दाबी भुक्तानी नपाउने व्यवस्था छ ।