गृहमन्त्री लामिछाने र निर्वाचन आयोग बिच छलफल
काठमाडौँ । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी विषयहरूमा महत्वपूर्ण छलफल गरेको छ ।
उक्त कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्रीज्यू समक्ष आगामी उपनिर्वाचन, २०८१ को तयारी र आचार संहिताको कार्यान्वयन, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा छलफल भएको हो । उक्त कार्यक्रममा आयोगको समसामयिक विषयमा प्रस्तुति कार्यपश्चात् माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूले लोकतन्त्रमा निर्वाचनको असाधारण महत्व रहेको र आयोगको प्रयास निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मर्यादित र पारदर्शी बनाउने विषयमा केन्द्रित रहेकाले आयोगले उठाएका विषयहरूमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको तथा प्रस्तुत विषयमा थप छलफल र परामर्श गरी मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए ।
आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई आयोगले स्वीकृत गरेको आचार संहिता र दिइएको निर्देशन बमोजिम स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालय तथा नेपाल सरकारबाट कुनै कसर बाँकी नरहने गरी सहयोग हुने प्रतिवद्धता व्यक्त गरे। आयोगको तर्फबाट प्रस्तुतीकरण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरू र राष्ट्रिय महत्वको विषयमा जनमत संग्रहसमेतको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्दै प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पारे । उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका माननीय आयुक्तज्यूहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृहमन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।