तराईमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै |
काठमाडौं । तराई मधेशमा फगुवा (होली) पर्व आपसी सद्भाव र रङको उत्सवको रूपमा मनाइन्छ । नेपालको पहाडी क्षेत्रभन्दा एक दिनपछि मनाइने यो पर्व यस क्षेत्रको मुख्य चाड हो । होलीलाई आफन्तबीच भेटघाट र उमङ्गको अवसरको रूपमा पनि लिइन्छ । पछिल्लो समयमा यो पर्व यो क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायका बासिन्दाबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बन्न पुगेको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।
होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज छुट्टी छ । यद्यपि, २ दिन नै होली मनाइने भएकाले प्रदेश २ सरकारले आज र भोलि दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।
यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ । यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ ।