सुनको मूल्यमा नयाँ रेकर्ड, १ तोलाको १ लाख २७ हजार ९०० रुपैयाँ
काठमाडौं । सुनको भाउले बिहीबार (चैत १५ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि चैत ८ गते छापावाल सुन तोलाको १ लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।
अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा सुनको मूल्य थप चुलिको छ । ब्याजदर कटौतीपछि निक्षेपकर्ताहरुसमेत सुनमा बडी फाइदा हुने अनुमान गरिरहेका छन् । यस्तै, अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेको पाइएको छ । यसको प्रभाव पनि माग र मूल्यमा परेको अन्तर्राष्ट्रिय विश्लेषकहरुले बताएका छन् ।
यस्तै, विश्व बजारमा द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ त्यसकै आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा पनि मूल्य निर्धारण गर्ने हो ।
यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १५ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ९० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १७७.९८ डलर र चाँदी प्रतिऔंस २४.४४ डलरमा कारोबार भइरहेको छ ।