‘खल्ती डिजिटल वालेट’ ले शुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा | सबै प्रकारका इभेन्ट्स तथा कार्यक्रमहरुको टिकट मोबाईलबाटै किन्न सकिने
काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ले हिजो चैत ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागिहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी उक्त कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्नेछन् ।
डिजिटल प्रणालीमा आधारित यस टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै उक्त कार्यक्रमका दर्शक तथा सहभागीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य थुप्रै प्रकारका कार्यक्रमहरुको टिकट अब खल्तीको उक्त सिस्टममा उपलब्ध हुनेछन् ।
अनलाईन टिकेटिङ सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ‘नेपालको सन्दर्भमा अहिलेको अवस्था हेर्ने हो भने इभेन्ट टिकेटिङ अझै व्यवस्थित र सहज हुन सकेको छैन । नजिकैको नाटकघरमा लागेको नाटक हेर्न होस् या कुनै स्पोर्ट्स म्याच हेर्न होस् अथवा कुनै सांगितिक कन्सर्ट नै किन नहोस्, कार्यक्रमको प्रचार–प्रसार, टिकट छपाई र वितरण जस्ता कामले आयोजकहरुलाई थप बोझ थप्ने गरेको पाइन्छ । त्यस्तै, दर्शकहरु पनि कार्यक्रम सुरु हुनु अगावै कार्यक्रम स्थलमा पुगेर लाईन बसेर टिकट किन्नुपर्ने असहजता छ ।’
खल्तीले संचालनमा ल्याएको यस सेवाले कार्यक्रम आयोजकहरुको टिकट छपाई तथा वितरण गर्ने झन्झट केहि हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । साथै, उक्त कार्यक्रमका दर्शकहरुले पनि अनलाईन मार्फत टिकट किन्दा पैसा बचत गर्न सक्नेछन् । खल्ती मार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको पचास प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।
टिकट किनिसकेपछि प्रयोगकर्ताले हरेक टिकटको लागि एउटा क्यु–आर कोड प्राप्त गर्नेछन् । जुन ‘पीडीएफ’ को फर्म्याटमा डाउनलोड गर्न पनि सकिन्छ । यसरी प्राप्त गरेको टिकट प्रीन्ट गर्ने झन्झट गर्नुपर्ने छैन । आफ्नो स्मार्टफोनमा रहेको उक्त कोड (ई–टिकट) लिएर कार्यक्रम स्थलमा जान सकिनेछ, जहाँ कार्यक्रम आयोजकले उक्त कोड स्क्यान गरि टिकट भेरीफाई गर्नेछन् ।
सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्तीे प्रयोगकर्ताहरुको संख्या ५ लाखभन्दा बढि रहेको छ ।