जहाँ इच्छा त्यहाँ उपाय : मोडल सारा श्रेष्ठ (नर्बे) |
काठमाडौं । विगत १३ वर्षदेखि यूरोपमा रोजगारीको सिलसिलामा बस्दै आएकी सारा श्रेष्ठ (नागरिकताको नाम सरिता श्रेष्ठ) नेपाली गीतसंगीत पारखीका लागि कुनै नौलो नाम होइन । श्रम गर्न विदेशमा घडीको सुईसँगै जीवनलाई कुदाइरहेकी उनले रोजगारीका साथै आफ्नो मोडलिङप्रतिको चाहनालाई पूरा गर्न विभिन्न म्युजिक भिडियोमा अभिनय गर्न पनि भ्याएकी छिन् । उदयपुरको कटारी नगरपालिका स्थायी घर भएकी उनले आफ्नो कला यात्रा भने यूरोपबाटै शुरू गरेको बताउँछिन् ।
साराले नेपालका चर्चित संगीतकार तथा गीतकार सत्य स्वरुपराज, सूर्य दयालु, दार्जिलिङकी चर्चित गायिका ललिताका म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेकी छिन् । रोजगारीको सिलसिलामा शुरूमा पोल्याण्ड र त्यसपछि बेल्जियम, पोर्चुगल हुँदै झण्डै तीन वर्षदेखि नर्बेको ओस्लो शहरमा रोजगारी गरिरहेकी उनले ग्रिनकार्ड भने पोर्चुगलबाट लिएको बताइन् ।
विदेशमा बाध्यताले श्रम गर्ने नेपाली चेली चेली नै होइन भन्ने नेपाली मानसिकता उनलाई एकदमै मन नपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘विदेशमा श्रम गरेर बस्ने चेलीलाई हाम्रै नेपालीहरूले नै चेली मान्दैनन्, यो कुरामा मेरो एकदमै मन दुख्छ । समान व्यवहार गर्दैनन् । ऊ त बाध्यताले श्रम गर्न आएको हो नि । थोरै मोजमस्ती गर्न आएको हो र ? विद्यार्थीको रूपमा आएका र श्रमिक भएर आएका नेपाली युवायुवतीलाई भने यूरोपमा एकै रूपमा हेर्ने गरिन्छ, यसमा भने मेरो चित्त बुझ्छ ।'
हाल मोडलिङ क्षेत्रमा आएको परिवर्तन देख्दा भने उनलाई खुशी लाग्छ । भन्छिन्, ‘अहिले मोडलिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ, त्यस्तो देख्दा खुशी लाग्छ । हिजोसम्म मोडलिङ क्षेत्रमा लाग्ने महिलाहरूलाई अर्कै दृष्टिकोणले हेरिन्थ्यो, अहिले साइडमा बसेर कुरा काट्ने तिनीहरू नै मोडलले अभिनय गरेका गीतहरू सुनेर बसिरहेका देखिन्छन् ।’
सन् २०१२ देखि मोडलिङ क्षेत्रको यात्रा शुरू गरेकी साराले हाम्रो नाता (सत्य स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ललिता), रहेछौ यात्री (सूर्य दयालु), आऊ गोरी (सूर्य दयालु–मेलिना राई), परेली फर्काई फर्काई (बाबुराम शिल), दुई किनार (सूर्य दयालु)लगायत झण्डै १० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
विदेशमा रहेर रोजगारी गर्दागर्दै पनि कसरी समय निकाल्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भनिन्, ‘विदेशमा श्रम गर्ने मान्छेले यसरी काम गर्न त धेरै गाह्रो नै छ । जहाँ इच्छा त्यहाँ उपाय । मन हुनुपर्यो, सपना हुनुपर्यो, समय त जसरी नि निकाल्न सकिँदो रहेछ ।’
अहिलेसम्म कुनै पनि मोडलिङ प्रतियोगितामा भाग नलिएकी साराले नर्बेमा व्यावसायिक विज्ञापनमा भने मोडलिङ गरिसकेको बताउँछिन् । उनले भनिन्, ‘मैले यहीँ नर्बेमा मेकअप आर्ट र ड्रेसको विज्ञापनमा अभिनय गरेकी छु ।’ आगामी दिनमा अवसर पाए नेपाली कथानक चलचित्रमा पनि अभिनय गर्ने उनले बताइन् ।
(सामाजिक सञ्जाल ‘इमो' मा भएको कुराकानीमा आधारित)