फागुनमै बिदेसिए ६५ हजार ६५८ जना नेपाली
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ४ लाख ७९ हजार २१० पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ११.३६ प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्ष २०७९–०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट ५ लाख ४० हजार ६७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार २०८० साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यसैगरी, मंसिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ अनुमति लिएका छन् ।
यता, फागुनमा भने ६५ हजार ६५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।