अस्वाभाविक मृत्यु रोक्न गन्तव्य मुलुकमै स्वास्थ्य शिविर सञ्चालन गर्ने सरकारको तयारी |
काठमाडौं । अब वैदेशिक रोजगारीमा गन्तव्य मुलुकमा रहेका नेपालीहरूको विदेशमै स्वास्थ्य परीक्षण हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीहरूको अस्वाभाविक मृत्यु रोक्नका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिएका हुन् ।
हिजो शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारमा गएकाहरूमा बढी किड्नीको समस्या देखिएको उल्लेख गर्दै त्यो समस्या आउन नदिन पनि सरकारले नेपाली चिकित्सकहरूको टोली आवश्यकताअनुसार पठाएर स्वास्थ्य परीक्षण गर्ने निर्णय लिनुपरेको बताए ।
उनले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरूको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था पनि गरिएको बताए । कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बबरमहलमा सारिएको नयाँ कार्यालयको कामको पनि शुभारम्भ गरेका थिए ।
नयाँ बानेश्वरमा रहेको सो कार्यालय सेवाग्राहीलाई सहज सेवा पुर्याउने उद्देश्यका साथ बबरमहलमा सारिएको पनि उनले स्पष्ट पारे । उनले सरकारले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको दाबी पनि गरे ।