७ महिनामा ५ खर्ब रेमिट्यान्स भित्रियो, २८.५ प्रतिशतले वृद्धि |
काठमाडौं । आर्थिक वर्ष २०७५∕७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ७ महिनामा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ७ महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार दशमलव नौ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक दशमलव छ प्रतिशतले घटेको थियो ।