‘आईटीबी बर्लिन’ मा नेपाल प्रवर्द्धन
![pata_barling pata_barling](https://www.arthikpati.com/wp-content/uploads/2024/03/pata_barling-900x500.jpg)
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरले नेपालको पर्यटन व्यवसायमा आकद्ध निजी क्षेत्रका ४० पर्यटन र आतिथ्य सत्कार (हस्पिटालिटी) कम्पनीसँगको सहकार्यमा जर्मनीको बर्लिनमा नेपाल प्रवर्द्धन गरेको छ ।
५ देखि ७ मार्चसम्म जर्मनीको बर्लिनमा आयोजित ‘आईटीबी बर्लिन २०२४’ मा नेपालका तर्फबाट निजी क्षेत्रले सक्रिय सहभागिता जनाएको छ ।
कार्यक्रममा गन्तव्य नेपाल प्रवर्द्धन र प्रचारप्रसार गरिएको पाटा–नेपाल च्याप्टरले जनाएको छ । पर्यटन उद्योग सम्बन्धी आयोजना हुने प्रवर्द्धनात्मक कार्यक्रममा आईटीबी बर्लिन विश्वकै सबैभन्दा ठूलो र अग्रणी ट्राभल ट्रेड शो मानिन्छ ।
यो वर्ष सम्पन्न आईटीबी बर्लिनमा १ सय ७० देशबाट ५ हजार ५ सयभन्दा बढी विक्रेता तथा प्रदर्शक कम्पनी सहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरेको थियो ।
आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भव्य एवम् शानदार प्रस्तुति सहित ओमानलाई एक आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई ओमान भ्रमणका लागि आह्वान गरेको थियो ।
आईटीबी बर्लिन उद्घाटन दिनमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियन उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा उनले सबै नेपाली प्रतिनिधिलाई स्वागत गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेकोमा पाटा–नेपाल च्याप्टर र नेपालको पर्यटन क्षेत्रका सम्पूर्ण निजी क्षेत्रलाई बधाइ दिएका थिए ।
बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपा सहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियन अन्तर्गत साहसिक टुर अपरेटर, एयरलाइन्स, होटल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा र एक्सपिडिसन अपरेटर साथै वेलनेस तथा स्वास्थ्य पर्यटन उद्यमीले नेपालमा ट्रान्स्फर्मेटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीय उपज र सेवा प्रवर्द्धन गरे ।
आईटीबीमा पाटा–नेपाल च्याप्टरले आगामी जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना गरिने नेपालकै अग्रणी तथा प्रिमियम अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शोको पाँचौं संस्करण ‘हिमालयन ट्राभल माट २०२४’ पनि प्रवर्द्धन गरेको छ ।
पाटा–नेपाल च्याप्टर अध्यक्ष विभूतिचन्द ठाकुरले आईटीबी बर्लिन २०२४ मा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिता र उनीहरूको महत्त्वपूर्ण भूमिकाका लागि धन्यवाद व्यक्त गरे ।
उनले विश्वको प्रमुख ट्राभल हबमध्येको आईटीबी बर्लिनमा नेपालको छवि उच्च राख्दै देशको पर्यटन बजारीकरण र प्रवर्द्धनका लागि पाटा–नेपाल च्याप्टरले भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको भन्दै दिगो पर्यटन विकास, विस्तार र प्रवर्द्धनमा नेपाल सदैव प्रतिबद्ध एवम् सक्रिय रहेको बताए ।