अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदेश प्रमुख खापुङको शुभकामना सन्देश
बिराटनगर । कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज मार्च ८, सुक्रवार मनाइने ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख खापुङले विज्ञप्तिमार्फत ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित विश्वभर मनाइदै गरिएको नारी दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्दिका लागि शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना सन्देशमा प्रदेश प्रमुख खापुङले भनेका छन्,‘नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरू अन्त्य गरी पुरुष र नारी बीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै, संयुक्त राष्ट्र संघले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरु महिला हित पक्षमा छन् ।’