महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रवक्तामा प्रवउ ज्ञवाली | प्रवउ पूजा सिंहको सरुवा संघीय प्रहरी इकाइ कार्यालय गण्डकीमा
काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली नियुक्त भएका छन् । यसअघि उक्त जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह रहेकोमा उनी सरुवा भई संघीय प्रहरी इकाइ कार्यालय गण्डकी जाने भएकाले हिजो बुधवारदेखि लागू हुने गरी प्रवउ ज्ञवालीलाई सो जिम्मेवारी तोकिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक शैलेश थापाले जानकारी दिएका हुन् ।
प्रवउ ज्ञवालीलाई ‘नेपाल प्रहरीको सञ्चार नीति २०६० अनुरुप उक्त जिम्मेवारी दिइएको उक्त कार्यालयले बताएको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेकोमा सरुवा तथा बढुवा भई महानगरीय प्रहरी कार्यालयमा आएका हुन् ।
अबदेखि उक्त कार्यालयबाट सम्पादन हुने जनसरोकारका काम कारबाही आम सञ्चारमाध्यममा सम्प्रेषण गर्ने र सञ्चारमाध्यमसँग आवश्यक समन्वय गर्ने कार्य प्रवउ ज्ञवालीले गर्ने उक्त कार्यालयले बताएको छ ।