६ युरोपेली देशका लागि चीनबाट भिसामुक्त नीति घोषणा
बेइजिङ । चीनले परीक्षणका लागि विभिन्न ६ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्ने भएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड, हंगेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरेको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको यो निर्णयसँगै थप देशहरुले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे । यस्तै, सीमापार यात्राका लागि द्रूतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको पनि उनले बताएका छन् ।
वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४औं राष्ट्रिय जन कांग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्रि नीति अवलम्बन सम्बन्धमा जानकारी गराएका हुन् ।
उनले यो प्रयासले चिनियाँ नागरिकहरुलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने जनाउँदै विदेशीहरुलाई चीनमा घरमा नै रहेकोजस्तो महसुस गराउने विश्वास व्यक्त गरे । वाङले उच्च–मानक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरलाई बढावा दिन, स्वतन्त्र व्यापार क्षेत्रहरूको विश्वव्यापी सञ्जाल विस्तार गर्न र विश्वव्यापी औद्योगिक, आपूर्ति र तथ्यांक प्रणालीलाई स्थिर र निर्बाध राख्न सम्बन्धित अधिकारीहरुसँग सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चिनियाँ अन्तर्राष्ट्रिय आयात निर्यात र अन्तर्राष्ट्रिय व्यापार सेवालगायत अन्तर्राष्ट्रिय सहयोग मार्गहरु पूर्णरुपमा विकास गर्न र बजार सिद्धान्तहरुमा आधारित, कानूनद्वारा शासित र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित आफ्नो व्यापार वातावरणलाई अनुकूलन गर्ने चीनको तयारी रहेको उनले बताए ।
सिन्ह्वा