विप्लवको बन्द : उपत्यकामा आंशिक प्रभाव, प्रदेश ५ का सबै जिल्लामा यातायात ठप्प |
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आज बिहीवार गरेको नेपाल बन्दको प्रभाव प्रभाव काठमाडौं उपत्यकामा आंशिक रूपमा परे पनि बाहिरी जिल्लाहरूमा भने जनजीवन प्रभावित बन्न पुगेको छ । उक्त पार्टीले सरकारले आफूमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा नेपाल बन्दको आयोजना गरेको हो ।
काठमाडौं उपत्यकामा आज बिहानैबाट निजी सवारीसाधन निर्वाध चलिरहे पनि सार्वजनिक सवारीसाधनमा भने यसको प्रभाव परेको देखिन्थ्यो । सार्वजनिक सवारीसाधनमा बन्दको प्रभाव आंशिक मात्र परेकाले गर्दा कम चल्दा यात्रुले सास्ती पाएका छन् ।
उक्त पार्टीको बन्द आयोजनाले काठमाडौं उपत्यकामा आंशिक रूपमा प्रभाव पारे पनि बाहिरी जिल्लाहरूमा भने जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानले प्रदेश ५ का सबै जिल्लामा प्रभाव परेको छ । प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र भएकाले पनि उक्त प्रदेशमा बन्दको राम्रै प्रभाव परेको हो । आज विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै पनि सवारीसाधन चलेका छैनन् ।
विभिन्न बस समिति, जीप समितिहरूका टिकट काउण्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ ।
यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ । सडकमा राखिएको स्पीड ब्रेकरको छेउमा उक्त शंकास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको टोलीले शंंकास्पद वस्तु डिस्पोज गरिसकेको छ ।
काठमाडौंबाट बाहिरी जिल्लाहरूका लागि छुट्ने लामो दूरीका सवारीसाधन पनि चलेका छैनन् । शैक्षिक संस्थाहरूमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ । बन्दको प्रभाव देशभर परेको पाइए पनि प्रतिबन्धित पार्टीका कार्याकर्ताहरूलाई सडक र चोकहरूमा देखिएका छैनन् ।
विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएको समाचारले सार्वसाधारण भने त्रसित बनेका छन् ।
प्रहरी सुरक्षाका साथ साझा यातायातको सेवा
विपलवले नेपाल बन्दको आयोजना गरे पनि साझा यातायातले भने आफ्नो सेवा प्रहरी सुरक्षाका साथ जारी राखेको छ । साझा यातायातका गाडीमा हतियारसहितका प्रहरीलले सुरक्षा दिइरहेको छ । मा प्रहरीले हतियारसहित सुरक्षा दिएको छ । बन्दका क्रममा सर्वसाधारण र बसको सुरक्षाका लागि सम्पूर्ण बसहरूमा हतियारसहितको प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
बन्दको दिन आज अन्य कम्पनीहरूले सेवा बन्द गरे पनि साझाले भने आफ्ना सबै बसहरू सडकमा गुडाएको छ । हाल साझाले ७५ वटा बसहरू सञ्चालन गरिरहेको छ । साझाले आज बाहिरी जिल्लामा समेत सेवा जारी राखेको छ ।