राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, तीन मन्त्रीको शपथ गराउने जानकारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन् ।
कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।
आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।