बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि, भारतमा हुन गई रहेको लोकसभा निर्वाचनले सयम पछि सर्यो |
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । आज जारी प्रेस विज्ञप्तिमा यसो हुनुको मुख्य कारण त्यसै समयमा भारतमा लोकसभा निर्वाचन हुनु हो ।
कोलकोता उडान एटीआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जानकारी दिएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने बताइएकोे छ ।
लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ ।
भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।
बुध्द एयर निजी क्षेत्रद्वारा सञ्चालित सबैभन्दा अग्रणी वायुसेवा कम्पनी हो । हालसम्म कम्पनीले देश विदेश गरि करोडौं यात्रुहरुलाई सेवा प्रदान गरिसकेको छ । बुध्द एयरसँग अहिले ६ वटा एटीआर ७२–५००, तीनवटा एटीआर ४२–३२० र २ वटा बीचक्राफ्ट जहाज सञ्चालनमा छन् । थप अर्को एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।