इञ्जिन मर्मतको पुरानै ठेक्का प्रक्रिया अगाडि बढाऊ : लेखा समिति |
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एयरबस–३२० जहाजको इञ्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगरी पुरानै ठेक्का प्रक्रियालाई अगाडि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । आज सोमवार बसेको लेखा समितिको बैठकले लुप्थान्सालाई समेत सहभागी गराएर ठेक्का प्रक्रिया अगाडि बढाउन निगमलाई निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिएका हुन् ।
निगमले भइसकेको ठेक्का प्रक्रिया रद्द गरेर पुनः अर्को टेण्डर प्रक्रिया शुरू गर्ने तयारी गरेको थियो । टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै यही फागुन १० गते बसेको समितिको बैठकले वाईडबडी ए–३३०, न्यारोबडी ए–३२० जहाज मर्मतको ठेक्का प्रक्रिया रोक्न लगाएको थियो ।
समिति सचिव पाण्डेका अनुसार निगमले प्राप्त चार कम्पनीको प्रस्तावबाट प्राविधिक रूपमा प्रभावग्राही नभएको भन्दै लुप्थान्सालाई हटाएको थियो । तर, छानबिनका क्रममा उक्त कम्पनीको प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावलीअनुरुप नै रहेकाले ठेक्का प्रक्रियाबाट नहटाउन निर्देशन दिइएको हो । यस विषयमा थप छानबिन गर्न सरोकारवालाको समेत ध्यानाकर्षण समितिले गराएको छ ।