२ लघुवित्तको आज एजीएम
काठमाडौं । नेरुडे लघुवित्त र निर्धन उत्थान लघुवित्तको साधारण सभा आज (फागुन ११ गते) बस्दैछ । जसमा नेरुडेको सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । कम्पनीले यसअघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन ।
कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
यस्तै, निर्धन उत्थान लघुवित्तको साधारण सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । कम्पनीले गत वर्ष भने १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।