अब व्यक्तिगत र संस्थागत ब्याजअन्तर १ प्रतिशत कायम हुने
काठमाडौं । आगामी चैत १ गतेदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत कायम हुने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ निर्देशनमा उक्त व्यवस्था कायम गर्नु पर्ने उल्लेख छ ।
‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’, निर्देशनमा उल्लेख छ ।
सो व्यवस्था आगामी चैत्र १ गतेदेखि लागु गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था थियो ।
त्यस्तै, बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था समेत हटाइएको उक्त निर्देशनमा उल्लेख छ ।