अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा चेम्बरद्वारा विभिन्न क्षेत्रका नौं महिला सम्मानित |
काठमाडौं । बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको छ । सम्मानित हुनेमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मंजु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा छन् ।
कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तरराष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् ।
इतिहासमा नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणको लागि महिलाले गरेको प्रेरणादायी योगदानको कारण देशमा परिवर्तन सम्भव भएको कुरामा उनले जोड दिए । ‘देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन अग्र मोर्चामा खटेर बलिदान गर्ने साहसिक महिला जगत नभएको भए देशले आज यो परिवर्तन पाउने थिएन’,उनले भने ।
देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठुलो योगदान दिएको पुनले बताए । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बैंकको प्रतिवेदनमा उल्लेख भएको लक्ष्य हासिल गर्न चेम्बर लागिरहेको बताए ।
नेपाल महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको बताईन् । नारीहरु चुल्हो र चौकोमा मात्र सिमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको उनले बताईन् ।