१५औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव भृकुटीमण्डपमा शुरू | प्रदर्शनीमा स्वदेशी अचार र कपडादेखि बंगलादेशको साडी र कपडा अनि चीनको भाँडाकुँडासम्म
काठमाडौं । १५औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव भृकुटीमण्डपमा आज शुक्रवारदेखि शुरू भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
पाँच दिनसम्म चल्ने उक्त महोत्सव घरेलु उद्योगका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएका छन् । उक्त मेलामा २ सय ५ वटा स्टल रहेका छन् । मेलामा उपत्यकाबाहिरका ५२ जिल्लाका ८० उद्योगका उत्पादन, चीन, भारत र बंगलादेश गरी ४५ वटा अन्तरराष्ट्रिय स्टल रहेका छन् । मेलाअवधिभरमा करिब ४ लाख ५० हजारले मेलाको अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा आयोजकले राखेका छन् ।
मेलामा हस्तकलाका सामान, नेपालमै उत्पादन भएका तयारी पोशाक, विभिन्न महिला उद्यमीले उत्पादनका गरेका खाद्य सामग्रीलगायत प्रदर्शनीका लागि राखिएको छ भने अन्तरराष्ट्रिय स्टलमा बंगलादेशमा बनेको साडी र तयारी पोशाक राखिएका छन् । चीनमा उत्पादन भएको भाँडाकुँडा र चकलेट पनि राखिएका छन् ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योग मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न थालिएको बताए ।
मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरिरहेको उनको भनाइ थियो । उनले भने, ‘एकातिर हामी दैनिक उपभोग्य वस्तुका सामानसमेत विदेशबाट आयात गरिरहेका छौं भने अकोर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादनसमेत निर्यात गर्न सकिरहेका छैनौं ।’