विश्व सामाजिक मञ्चको सम्मेलन भोलीबाट, सम्पूर्ण तयारी पुरा
काठमाडौं । “अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ यही फागुन ३ देखि ७ गते (फेब्रुअरी १५ देखि १९) सम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक सङ्गठनहरुको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ । नेपालमा हुने यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अंङ्गिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति‐संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गर्ने अपेक्षा छ । यस्ले विश्वव्यापी रुपमा सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायम गर्दै मानव जगतको हित गर्नका लागि योगदान⁄दवाव प्रदान गर्ने पनि आयोजकको विश्वास छ ।
नेपाल आयोजक समितिमा छ र यसका मातहतमा रहेका मेथोडोलजी तथा कार्यक्रम, लजिस्टिक, लेइजन, कम्युनिकेसन र आइटी, स्रोत व्यवस्थापन, मिडिया इन्गेजमेन्ट, रिसर्च र डकुमेन्टेसन, सेफगार्ड, समावेशी अडिट, अन्तराष्ट्रिय डेलिगेट्स समन्वय, सुरक्षा समन्वय उपसमितिहरुको क्रियाशीलता र अन्तराष्टिय काउन्सिल र एशिया प्यासिफिक समूहको सहजीकरणमा सम्पूर्ण तयारी पूरा भएको छ ।
सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४०२ वटा कार्यक्रमहरु दर्ता भएका छन् । कार्यक्रममा हालसम्म विश्वभरबाट ९२ देशका १२५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमादर्ता भएका छन् । कार्यक्रममा करिव ४० देखि ५० हजार जनाको सहभागीता रहने अपेक्षा गरिएको छ । विश्व सामाजिक मञ्च २०२४ को उद्घाटन समारोह फेब्रुवरी १५ मा काठमाडौंको भृकुटिमण्डपमा हुनेछ । विषयगत छलफल तथा सम्मेलनहरू र समानान्तर सत्रहरू १६–१८ फेब्रुवरी २०२४ मा भृकुटिमण्डप क्षेत्रमा आयोजित हुनेछन् । यस मध्ये अन्तर महादेशीय युवा मञ्च १७ फेब्रुवरी २०२४ मा आयोजना हुनेछ । हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुनेछन र दिनको अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुनेछन् ।
मञ्चमा दर्ता भएका मुख्य कार्यक्रमहरुमा विभिन्न आन्दोलनहरुले आआफ्ना सवालहरुमा विमर्श गर्नेछन् । मजदुर आन्दोलनले उचित ज्याला, कामदारको अधिकार, आधुनिक दासता, आप्रवासनजस्ता विषयहरु उठाउनेछन् यसैगरी किसान र कृषि आन्दोलनले भूमि अधिकार, दिगो कृषि, खाद्य सुरक्षा, स्वच्छ व्यापारका सवालहरु उठाउँदै कृषि क्षेत्रमा देखिएका शोषण, असमानता जस्ता चुनौतिहरुमा वहस गर्नेछन् । विश्वव्यापी जलवायु न्याय मञ्चमा वातावरण संरक्षण, जलवायु परिवर्तनको असरबाट प्रभावित नागरिकहरुका सवाल, जलवायु न्याय जस्ता विषयमा छलफल हुनेछ ।
यसैगरी आदिवासी जनजाती समुदायका आवाज र सवालहरुलाई विश्वव्यापी रुपमा सङ्गठित गरी उनीहरुका ज्ञान, सीप, कला, संस्कृतिको जगेर्नाको काम गर्न विश्व आदीवासी जनजाती मञ्चको आयोजना हुँदैछ । यस्तै, व्यापार र मानवअधिकार सहित मर्यादित काम प्रवद्र्धन गर्ने गरी विश्व सभा हुँदैछ । यसैगरी असमानता र विभेद सम्वन्धी हुने युवासभाले आर्थिक वृद्धिले असमानतामा पार्ने प्रभाका वारेमा वहस गर्नेछ ।
वल्र्ड फेमिनिस्ट फोरमले लैंङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैंङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकार जस्ता विषयमा वहस छलफल गर्नेछ । यसैगरी सीमान्तकृत सामाजिक समूहले लैंङ्गिक तथा यौनिक अल्पसंख्यक, आदिवासी जनजाती, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रमहरु गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाहरुको संरक्षण, जवाफदेहिता जस्ता विषयमा वहस गर्नेछ । विश्वव्यापीकरण विरुद्धको आन्दोलनले विश्वव्यापीकरणले व्यापार, आर्थिक न्याय, सार्वजनिक सम्पतिको निजीकरणले पारेको प्रभावका वारेमा चर्चा गर्नेछ ।
शरणार्थी तथा आप्रवासन आन्दोलनले शरणार्थी र आप्रवासीहरुको अधिकार, विभेद र उनीहरुको आधारभुत मानवअधिकारका वारेमा छलफल गर्नेछ । वल्र्ड डिग्निटी फोरममा विश्वमा जात, वंश र जन्मका आधारमा हुने विभेद, वर्ण व्यवस्था र जात व्यवस्थाको असर, रंगका आधारमा हुने विभेद, वञ्चितीकरण, जलवायु परिवर्तन, विपद र असमानताले दलित तथा सीमान्तकृत समुदायमा पारेको प्रभाववारे वहस हुनेछ । साथै विभेदमुक्त विश्वका लागि विश्वव्यापी हस्ताक्षर कार्यक्रम पनि हुँदैछ । यसैगरी मिडिया कन्क्लेभ, वल्र्ड मिडिया इन क्राइसिस जस्ता विषयमा पनि वहस हुनेछ । विश्वमा भईरहेका युद्धका विरुद्ध आवाज उठाउँदै र शान्ति स्थापनाका पक्षमा ऐक्यबद्धता जनाइनेछ । समाजवादका पक्षधर, अध्येता राजनीतिज्ञ र बुद्धिजीवीहरुको उपस्थितिमा समाजवादको भविष्य विषयमा डिस्कोर्ष आयोजना हुनेछ ।
माथि उल्लेखित कार्यक्रम वाहेक हरेक दिन विश्वका विभिन्न देशका कला, साहित्य, सांस्कृतिक झाँकीहरु सम्मिलित सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् । यसका साथै विश्व सामाजिक मञ्चको अन्तराष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र ः ऐक्यवद्दता, सामाजिक र पूँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र संघर्ष, प्यालेस्टाइन समसामयिक सवाल जस्ता विषयमा सन्धयाकालिन क्याफे सम्वाद हुँदैछन् । विश्व सामाजिक मञ्चमा आयोजना हुने अधिकांश कार्यक्रम हाइव्रिड विधिमा सम्पन्न हुनेछन् । नेपाली, अंग्रजी, फ्रेन्च, स्पेनिस, अरविक र पोर्तुगिज गरी ६ भाषामा पोडकास्टबाट अनुवाद हुनेछ । यसका लागि स्वयम सेवक अनुवादकको व्यवस्था गरिएको छ । कार्यक्रम सम्वन्धी थप विवरण https://www.wsf2024nepal.org/activities बाट प्राप्त गर्न सकिनेछ । साथै WSF नामक एप्स डाउनलोड गरी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ ।
मञ्चमा विभिन्न सामाजिक आन्दोलनका व्यक्तिहरु वक्ताका रुपमा आमन्त्रण गरिएको छ । मजदुर, किसान, महिला, दलित, युवा, अपाङ्गता भएका ब्यक्ति लैंङ्गिक अल्पसंख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरुले उद्घाटन समारोहमा सम्वोधन गर्नेछन् । हालसम्म अन्तराष्ट्रिय श्रम सङ्गठन महासंघ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरा लगायतका अथिति वक्ताहरुको सहभागिता निश्चित भएको छ भने विभिन्न महादेश र अन्य आन्दोलनको प्रतिनिधित्व गर्ने वक्ताहरुको टुंगो लाग्ने क्रममा छ ।
कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित वनाउनका लागि ७५० जना स्वयमसेवकहरु तयारी अवस्थामा छन् । पत्रकारहरुलाई समाचार सङ्कलन र संप्रेषणमा सहयोग पुर्याउन कार्यक्रम स्थलमा मिडिया सेन्टर स्थापना गरिएको छ । विश्व सामाजिक मञ्च आयोजनाका लागि स्वदेश तथा विदेशबाट प्राप्त साथ सहयोग र ऐक्यवद्दताका लागि नेपाल आयोजक समितिले सवैप्रति आभार व्यक्त गर्दै समग्रमा कार्यक्रमलाई सफल पार्न थप सहयोगको अपेक्षा गरेको छ । देशको गौरवसँग जोडिएको यो विश्वस्तरको कार्यक्रमलाई भव्यरुपमा सफल पार्न आम नेपाली तथा मिडियासँग आयोजकले अपिल गरेका छन् ।