सोल्टी होटलको आम्दानीसँगै बढ्यो नाफा
काठमाडौं । सोल्टी होटलले ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको समीक्षा अवधिको तुलनामा नाफा ४.६ प्रतिशत बढेको हो । कम्पनीले डिसेम्बर ३१ (पुस १५) सम्मलाई दोस्रो त्रैमासिक अवधिका रुपमा गणना गरी वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार ६ महिनामा कम्पनीको कुल आम्दानी १ अर्ब ५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो । कुल आम्दानी बढ्दा कम्पनीको नाफामा टेवा पुगेको देखिन्छ ।
कम्पनीले अंकित मूल्य १० रुपैयाँका दरले सेयर जारी गरेको हो । जसकारण वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९७ पैसा छ । प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटकीय व्यवसायिक गतिविधिमा सुधार आएकाले वित्तीय स्थितिमा पनि सुधार देखिएको जनाएको छ ।