नेपालमै पहिलोपटक ४ लाख किमि वारेन्टी भएको उलिङ ईभी कमर्सियल भ्यान सार्वजनिक हुँदै
काठमाडौँ । सशिला मोटर्सले नेपालमै पहिलोपटक ८ वर्ष वा ४ लाख किमि वारेन्टी भएको उलिङ ईभी कमर्सियल भ्यान सार्वजनिक गर्ने भएको छ । त्यसका लागि सशिला मोटर्स प्रालिले विश्वप्रसिद्ध ईभी उत्पादक उलिङ मोटर्स होल्डिङ लिमिटेडसँग नेपालका लागि आधिकारिक वितरकको रूपमा सम्झौता गरेको छ ।
उक्त सम्झौतामा सशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ मोटर्स होल्डिङ लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै अब सशिला मोटर्सले आगामी अप्रिलमा नेपाली बजारमा उलिङको ११ सिटर ईभी भ्यानहरू सार्वजनिक गर्ने जानकारी गराएको छ ।
साथै, यो सम्झौतासँगै अब सशिला मोटर्स प्रालि उलिङ मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूका लागि एक मात्र आधिकारक वितरक बनेको छ ।
नेपालमा सार्वजनिक गर्न लागिएको ११ सिट क्षमताको ईभी भ्यान वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीको दाबी छ । साथै, ईभी भ्यानहरूमध्ये ग्राहकहरूको पहिलो रोजाइमा स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ । नेपालको यातायात क्षेत्र विद्युतीकरणमा रूपान्तरण हुँदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा आरामदायी उलिङ ईभी कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ भने कार्बन उत्सर्जनमा कमी ल्याउनमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
उलिङ ईभी भ्यान आगामी अप्रिलबाट नेपाली बजारमा उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।