भारतीय सामान आयातमा भन्सार छुट रोक्ने ट्रम्पको घोषणा |
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गर्दै भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने घोषणा गरेका छन् । भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।
अमेरिकी कंग्रेसलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘भारत सरकारसँग धेरै लामो कुराकानीपछि म यो कदम उठाइरहेको छु । किनकी भारतले अहिलेसम्म अमेरिकालाई आफ्नो बजारमा सहज पहुँच दिने आश्वासन दिएको छैन ।’
सन् १९७० मा अमेरिकाले विशेष आयात नीति बनाएको थियो । यस अन्तरगत अमेरिकामा भारत र टर्कीलाई विकासशील देशका रुपमा विशेष ग्राह्यता दिइएको थियो ।
समाचार एजेन्सी रोयटर्सका यस नीति अनुसार भारतको ५.६ अर्ब डलरको सामान अमेरिकी बजारमा बिना आयात शुल्क प्रवेश हुन्छ । जबकी अमेरिकाबाट आयात हुने सामानमा भारतले अत्यधिक आयात शुल्क लगाउँदै आएको छ । यसैमा ट्रम्पको असन्तुष्टि हो । उनी अमेरिकाको व्यापार घाटा कम गर्न चाहन्छन् । भारतले लगाइरहेको आयात शल्क अनुचित रहेको उनको निश्कर्ष छ ।
‘भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई न्यायसंगत र उचित पहुँच दिनुपर्छ, तर भारतले दिएको छैन,’ ट्रम्पले पत्रमा भनेका छन् ।
राष्ट्रपति ट्रम्पको प्रस्ताव कंग्रेसले पारित गरेमा ६० दिनपछि लागू हुने छ । यसबाट भारतीय वैदेशिक व्यापारमा ठूलो चोट लाग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।
तर, भारतीय वाणिज्य मन्त्रालयका सचिव अनुप धवनले भने अमेरिकाको बिशेष ग्राह्यता हट्दैमा भारतीय अर्थव्यवस्थामा ठूलो असर नपर्ने दावी गरे । उनको भनाइमा यसले १९ करोड डलरसम्म मात्रै हानी हुनेछ ।
धवनले भने, ‘अमेरिकासँग हाम्रो व्यापारिक सम्वन्ध बिग्रिने छैन । दुवै देशबीच व्यापारिक मुद्दाहरुमा कुराकानी जारी रहनेछ । अमेरिकी उत्पादनमा भारतले लगाएको आयात शुल्क विश्व व्यापार संगठनको निर्धारित सीमाभित्रै छ ।’