द्विपक्षीय व्यवसायीक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग परिसंघ र साना तथा मझौला जर्मन व्यवसायीक संघबीच समझदारी
काठमाडौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यवसायीक संघ (बीभीएिडब्ल्यू) बिच द्विपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ।
समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरे ।
सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझाैला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए। उनले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकास टेवा पुर्याउने र सम्वृद्धितर्फ डोर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि जर्मन डा. थोमस प्रिन्जले यस सहकार्यले व्यवसायीक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए। उनले दुवै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने बताए ।
बीभीएमडब्ल्यूका नेपाल प्रतिनित्रि थपलियाले यस समझदारीको उद्देश्य व्यवसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हने संयुक्त उद्दमका अवसरहरू खाेज्ने रहेकाे बताए ।
सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जाेशी, सीएनआई वमन लिडरसिप फाेरम सदस्य रिता भण्डारी लगायत सहभागी थिए ।