नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता |
काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता भएको छ । दुबै दशेको मन्त्रिपरिषद बैठकले पारित गरेपछि मंगलबार अर्थमन्त्रालयमा कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर भयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले सम्झौतामा हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ती त्यही देशमा मात्रै कर तिर्दा हुने भएको छ । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।
सम्झौतासँगै दुवै देशलाई फाइदा पुग्ने राजस्व सचिव घिमिरले जानकारी दिएका छन् । दुवै देशबाट लगानीका लागि वातावरण बनाउन पनि यो सम्झौताले सघाउ पुर्याउने सचिव घिमिरेले बताएका छन् ।
पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन् । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई यो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ । राजस्व सचिव घिमिरेका अनुसार भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाइल्याण्डलगायत १० मुलुकसँग यस अघिनै सम्झौता गरिसकेका छन् ।