नेकपाका नेता तथा पूर्वसांसद पण्डितको हृदयाघातबाट निधन |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयाघातबाट निधन भएको छ । पण्डित आइतवारमात्रै भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका थिए । पण्डितलाई हृदयाघात भए पछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।
पण्डितको नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयाघात भएको पारिवारिक सदस्यले बताएका छन् ।
पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए । कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा, तीन छोरी र श्रमिती छन् ।
सत्तारुढ नेकपाले एक साताभित्र चारजना नेता लगातार गुमाएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वली पछि पूर्वसांसद पण्डितलाई नेकपाले गुमाएको हो ।