इटहरी र बुटवलबाट पनि कम्पनी दर्ता शुरू | १० करोडसम्मका कम्पनीको नवीकरण गरिने
काठमाडौं । काठमाडौं बाहिर पनि कम्पनी दर्ता शुरु गरिने भएको छ । काठमाडौं बाहिर अब प्रदेशबाट पनि कम्पनी दर्ता सम्बन्धि काम हुने भएको छ । सरकारले चैत पहिलो सातादेखि प्रदेश कार्यालयबाट पनि कम्पनी दर्ताको काम गर्ने भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, बुटवल कार्यालयको लागि बुटवलस्थित जनकपुर चुरोट कारखानाको भवनमा कार्यालय राख्ने टुङ्गो लागिसकेको छ । इटहरी कार्यालयको लागि भने भवन भाडामा लिने अन्तिम तयारी भइरहेको छ ।
प्रदेश कार्यालयमा ७ ∕ ७ जना कर्मचारीको दरबन्दी रहने कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ । जसमा उपरजिष्ट्रार १ जना, सहायक रजिष्ट्रार २ जना, नायब सुब्बा १ जना र कम्प्युटर अधिकृत १ जना रहने छन् । कार्यालय सहयोगी र सवारीचालक पनि १∕ १ जना रहने गरि एउटा कार्यालयको लागि ७ जनाको दरबन्दी स्विकृत भएको हो ।
अर्थमन्त्रालयले प्रदेश कार्यालयको लागि भन्दै ७५ लाख रुपैयाँका दरले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । बुटवल कार्यालयमा जान ईच्छुक कर्मचारीको नाम स्विकृतीको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाइएको र इटहरी कार्यालयको लागि थप कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयलाई नै लेखिपठाइएको बताइएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा उपरजिष्ट्रारले १० करोड रुपैयाँ स्थिर पूँजी भएका कम्पनी दर्ता गरिरहेकाले प्रदेश कार्यालयले पनि १० करोड रुपैयाँसम्मका कम्पनी मात्रै दर्ता गर्ने छन् । प्रदेश कार्यालयले हेर्ने कम्पनीका फाइल केन्द्रिय कार्यालयबाट उता लगिने र त्यसपछि नवीकरणका सबै काम प्रदेश कार्यालयबाटै हुने छन्।