डिएभी कलेजद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । डीएभी कलेजको आयोजनामा यही माघ १३ गतेदेखि सञ्चालन भएको ‘पाँचौँ डीएभी (प्लस टु) अन्तरकलेज सिक्स ए साइड फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विनायक सिद्ध कलेज विजेता बनेको छ ।
त्यस्तै, प्रतियोगितामा उपविजेता कुमारी एकेडेमी (केईबीएस) बनेको छ भने उत्कृष्ट खेलाडी डीएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाल बनेका छन् ।
प्रतियोगिताको विजेता टिम विनायक सिद्ध कलेजलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम कुमारी एकेडेमी (केईबीएस) लाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही नगद १५ हजार, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, शिवशक्ति युनिफर्मका सञ्चालक÷एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठले संयुक्त रूपमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डीएभी कलेजले उक्त फुटसल प्रतियोगिता आयोजना गरेको हो । कलेजको आफ्नै फुटसल मैदानमा आयोजना गरिएको उक्त प्रतियोगिताको प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, मुख्य अतिथिका रूपमा नेपालका भू.पू. राष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन र कलेजका प्रिन्सिपल सुमन बस्नेतले समुद्घाटन गरेका थिए ।