भ्रष्टाचार सूचकांकमा नेपाल ३५ अंकसहित १०८ औं स्थानमा, सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सोमालिया
काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगललवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८ औं स्थानमा परेको हो । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा भने नेपाल ३४ अंक पाएर ११० औं स्थानमा रहेको थियो । नेपालको स्थानमा केही सुधार भएको हो ।
सीपीआईले विश्वका १८० वटा देशहरुको सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारको स्तरलाई मापन गर्छ । मापन गरिएको परिमाणलाई ० (अत्याधिक भ्रष्ट) देखि १०० (धेरै स्वच्छ) को स्केलमा प्रस्तुत गरिन्छ ।
कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा छ । सूचीको अन्तिम स्थानमा अर्थात सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । यसले ११ अंक मात्र पाएको छ । यता, दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ ।