बाराही हाइड्रोपावर १२ लाख ३० हजार रुपैयाँ घाटामा
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ लाख ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ । यो हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ लाख ६८ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण रिपोर्टमा उल्लेख गरेको छैन ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २ करोड १० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । वित्तीय खर्च १ करोड २१ लाख रुपैयाँ छ । प्रशासनिक खर्च ११ लाख ४४ हजार रुपैयाँ रहेको छ । सञ्चालन खर्च २६ लाख ६८ हजार रुपैयाँ देखिएको छ । खर्च धेरै हुँदा कम्पनी घाटामा गएको हो ।
यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ५७ रुपैयाँ रहेको छ । यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । जगेडा कोष १० करोड ७४ लाख रुपैयाँले ऋणात्मक छ । बाराही हाइड्रोपावर १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा छ ।