काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्ममा उद्योग विभागमार्फत २ सय ११ उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमार्फत १ खर्ब ३६ अर्बको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
चालु आवको ६ महिनमा दर्ता उद्योगको संख्या गत आवको भन्दा बढी हो। गत आवको सोही अविधा १ सय ४५ वटा उद्योग दर्ता भएका थिए।
दर्ता उद्योगको संख्या उल्लेख्य मात्रामा बढे पनि लगानी प्रतिबद्धता रकम भने गत आवको ६ महिनाको तुलनामा चालु आवमा कमी हो। गत आवको ६ महिनमा १ अर्ब ३९ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।
६ महिनाको अवधिमा ठूला उद्योग २८ वटा, मझौला उद्योग १६ वटा र साना उद्योग १ सय ६७ वटा दर्ता भएका छन्।
विभागका अनुसार विदेशी लगानी स्वीकृत संख्या भने २ सय २६ वटा रहेको छ। ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
दर्ता उद्योगमा १३ हजार ६ सय ७० जनाका लागि रोजगारीको प्रस्ताव गरेको छ। ६ महिनामा १५ वटा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको विभागले जनाएको छ।