पशुपतिनाथमा महाशिवरात्री तयारी ː ६ हजार सुरक्षाकर्मी, ५ हजार स्वयंसेवक परिचालन | गाँजामा प्रतिबन्ध, १० रुटमा सवारीसाधन प्रवेश निषेध, ढोकैमा चन्दन वितरण
काठमाडौं । पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । यस वर्षको महाशिवरात्री सोमबार परेको छ ।
पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । भिडभाडमा चोरी र लुटपाट हुन सक्ने भन्दै गरगहना नलगाइ मन्दिर दर्शनका लागि आउन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।
पशुपति क्षेत्र वरपर मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ भने प्लाष्टिक निषेध गरिएको छ ।
देशविदेशका लाखौं भक्तजनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्ने गरेका छन् । पशुपतिमा देश–विदेशबाट गरी झण्डै १० लाख भक्तजनले दर्शन गर्ने अनुमान छ । आइतबार बिहानसम्म पशुपति क्षेत्रमा छ हजार बढी साधुसन्त आइपुगेको बताइएको छ । शिवरात्री मेला भर्नकै लागि भारत, श्रीलंका, बंगलादेशबाट पनि साधुसन्त आएका छन् । आइतबार साँझसम्म साधुसन्त थपिने अनुमान छ ।
१० ओटा रुटमा सवारी साधन सञ्चालनमा रोक
शिवरात्रीको अवसर पारेर महानगरीय ट्राफिक महाशाखाले १० ओटा रुटमा पूर्णरुपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । रोक लगाएका स्थानमा चावहिलबाट गौशाला तर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ लगायत रहेका छन् ।
चारैतिरबाट लाइनको व्यवस्था
कोषले पशुपतिनाथ मन्दिरको चारैतिरबाट दर्शनार्थीको लाइनको व्यवस्था मिलाएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई वटा लाइनको व्यवस्था व्यवस्था मिलाइएको छ ।
यसैगरी जयवागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एउटा लाइनको व्यवस्था छ । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस्तै बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था पनि मिलाएको छ ।
भक्तजनको भीड बढी भएमा तिलगंगा–राम मन्दिरतिरबाट समेत अर्को एउटा लाइनको व्यवस्था गरिने सदस्य सचिव ढकालले बताए । ज्येष्ठ नागरिक र अशक्तलाई भने लाइनमा नबसी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
बाहिर निस्कने ढोकैमा चन्दन वितरण
महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता–चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकीएको छ । आवास क्षेत्रमा १०० संस्थाले निːशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।
साधुसन्तको संख्या बढ्दो
शिवरात्रीका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको संख्या प्रत्यक वर्ष बढि रहेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको छ । साधुसन्तलाई निːशुल्क आवास, भोजन र धुनी बाल्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई फागुन २२ गते दान दक्षिणासहित बिदाइ गरिने कोषले जनाएको छ ।
पाँच ठाँउमा पार्किङ
तिलगंगा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुहृयेश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ ।
हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले भक्तिसंगीत कार्यक्रम प्रदर्शन गर्नेछन् । आइतबारदेखि नै पश्चिम मूल ढोकाअघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन गरिनेछ ।