चिन्तामणि शिवाकोटीको संयोजकत्वमा ‘नयाँ स्टक एक्सचेञ्ज अध्ययन समिति’ गठन
काठमाडौं । भ्रष्ट छविका साथ धितोपत्र बोर्डबाट रमेश हमाल विदा भएपछि सरकारले पुनः नयाँ स्टक एक्सचेञ्जको विषयमा अध्ययन गर्न समिति बनाएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्टबैंकको सञ्चालक समितिका सदस्य तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
समितिमा एक कानून व्यवसायी र अर्का एक चार्टर्ड अकाउन्टेन्ट सदस्यको रुपमा रहनेछन् ।
सरकारको प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मंगलबारको मन्त्रीपरिषद बैठकको निर्णयबारे बुधबार जानकारी दिंदै शिवाकोटीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको जानकारी दिइन् । उनले भनिन्–‘धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्टबैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय भएको छ ।’
भ्रष्ट छवि बनाएका धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले विभिन्न व्यापारिक समूह र गिरोहको प्रभावमा परेर कार्यकालको उत्तराद्र्धमा हतार हतार दोश्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेका थिए । करोडौंको खेलमा फसेर यस्तो प्रक्रिया सुरु भएको भन्दै सरकारसम्म उजुरी पुगेपछि त्यो प्रक्रियालाई रोकिएको थियो ।
अर्थमन्त्रालयले यसअघि पनि दोश्रो स्टक एक्सचेञ्ज आवश्यक रहे नरहेको विषयमा अध्ययन गर्न भने पनि बोर्ड अध्यक्ष हमालले टेरेका थिएनन् । यहीकारण उनको अर्थमन्त्रीसँगको सम्बन्ध बिग्रिएको थियो । निश्चित व्यापारिक घरानाको ईशारामा द्रूत गतिमा नयाँ एक्सचेञ्जलाई लाइसेन्स दिन खोजेका हमाल अर्थमन्त्रीकै असहयोगका कारण यो प्रकरणमा असफल भई बोर्डबाट बाहिरिएका थिए ।